बाढी र बिषादीको कारण देखाउँदै तरकारीको मुल्य आकासियो ।

0
91

पछिल्लो साता काठमाडौंमा तरकारीको मूल्य अत्यधिक बढेको छ । असारको पहिलो सातादेखि बढ्न थालेको तरकारीको भाऊ असार ३० सम्म आइपुग्दा थप आकाशिएको छ ।

असार १ देखि ३० गतेसम्मको मूल्यसूचीको तुलना गर्दा तरकारीको मूल्य ७० प्रतिशतसम्म बढेको छ ।तरकारीको भाऊ के कारणले चुलियो भन्ने स्पष्ट हुन सकेको छैन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कुरा पत्याउने हो भने वर्षात्का कारण तरकारीको मूल्य आकासिएको हो । तर, कतिपय व्यवसायीचाहिँ सीमानामा भारतीय तरकारी र फलफूलको विषादी परीक्षण हुन थालेपछि तरकारी कम आयात हुन थालेको र भाऊ बढेको तर्क गर्छन् ।

आखिर जे कारणले तरकारीको भाऊ बढे पनि आम सर्वसाधारणको भान्सामा पाक्ने तरकारीको मूल्यवृद्धिले निम्न आय भएका नागरिकहरुको जीवन असहज बनेको छ । आकासिँदो मूल्यवृद्धिलाई रोक्न र जनजीवनलाई सहज बनाउन जिम्मेवार निकाय जुनरुपमा गम्भीर हुनुपर्ने हो, त्यो नहुँदा कालाबजारियाहरु सल्बलाएको उपभोक्ता अधिकारकर्मीको दाबी छ ।

असार १ गते औसतमा १५५ रुपैयाँ प्रतिकेजी रहेको हरियो प्याज असार ३० गतेसम्म आइपुग्दा बढेर २२५ रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । यसको मूल्य वृद्धिदर ३० दिनमा करिब ६९ प्रतिशत देखिएको छ ।

त्यसैगरी भिण्डी, घिउ सिमी, गाजर, गोलभेडा लगायतको मूल्य पनि आकासिएको छ । असार १ गते भिण्डी न्यूनतम ६० रुपैयाँ थियो भने अधिकतम ७० रुपैयाँ थियो । अहिले भिण्डीको अधिकतम १२० रुपैयाँ पुगेको छ भने न्यूनतम ११० रुपैयाँ ।

घिउसिमीको मूल्य पनि आकासिएको छ । असार १ गते औसतमा १०५ रुपैयाँ रहेको लोकल घिउँसिमी असार ३० मा आइपुग्दा १५५ रुपैयाँ पुगेको छ । असार १ मा औसतमा ११५ रुपैयाँ प्रतिकेजी रहेको हाइब्रिड घिउसिमी असार ३० मा आइपुग्दा १५५ रुपैयाँ पुगेको छ ।

गोलभेडाको मूल्य पनि आकासिएको छ । ठूलो नेपाली गोलभेडाको मूल्य असार १ गते कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले औसतमा ९५ रुपैयाँ तोकेको थियो । असार ३० सम्म आइपुग्दा यसको मूल्य १२५ रुपैयाँ पुगेको छ ।

सानो गोलभेडाको मूल्य असार १ मा औसत प्रतिकेजी ५५ रुपैयाँ थियो जुन बढेर अहिले प्रतिकेजी १२५ रुपैयाँ पुगेको छ ।

गाजरको मूल्य असार १ मा औसत प्रतिकेजी ८५ रुपैयाँ थियो । अहिले लोकल गाजरको मूल्य प्रतिकेजी ११० रुपैयाँ पुगेको छ ।

समिति भन्छ– वर्षातले गर्दा महंगियो

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारीको मूल्य बढ्नुको कारण बर्षात भएको बताएको छ ।

समितिका उप कार्यकारी निर्देशक विनय श्रेष्ठले बर्षातका कारण तरकारी पर्याप्त मात्रामा नआउँदा मूल्य अस्वाभाविकरुपमा बढ्दै गएको बताए । उनले वर्षातको समयमा सधैं मूल्य बढ्ने गरेको बताए ।

केही दिनअघि बजार आवागमन धेरै घटेको जानकारी दिँदै अहिले क्रमिकरुपमा सुधार हुँदै आएको श्रेष्ठले बताए । बजार आवागमन सुधार हुँदै गएपछि तरकारीको मूल्य पनि स्वतः घट्दै जाने उप कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।

अहिले भारतबाट आउने तरकारीभन्दा पनि नेपालमै धेरै उत्पादन हुने तरकारीहरुको मूल्य बढेको श्रेष्ठ बताउँछन् । उनका अनुसार भारतबाट आउने आलु, ब्याज लगायतका तरकारीहरु निर्वाधरुपमा आइरहेका छन् । तर, नेपालमै उत्पादन हुने तरकारीहरु बजारमा कम आउँदा भाउ बढेको हो । ‘काभ्रे, धादिङ, नुवाकोटका साथै पूर्वी तराईबाट समेत पर्याप्त तरकारी काठमाडौं आएको छैन, यसको कारण वर्षात नै हो’ श्रेष्ठ भन्छन्, ‘असार २५, २६ र २७ गते तरकारी आवागमन अत्यन्तै कम थियो, त्यही कारण मूल्य बढ्यो । तर, अब सुधारिएको छ, आशा गरौं क्रमशः घट्नेछ ।’

वर्षात बढ्दै जाँदा उत्पादन पनि कम हुने र बजारमा तरकारी पु¥याउन समस्या हुने हुँदा किसानले नै बढी मूल्य खोज्ने गरेको श्रेष्ठले बताए । वर्षातका कारण बढेको मूल्यलाई स्वभाविक रुपमा लिनुपर्ने उनको जिकिर छ ।

व्यवसायी भन्छन्– विषादी परीक्षणले पनि प्रभाव पार्यो

तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको व्यवसायीहरु स्वीकार्छन् । तर, उनीहरु भारतबाट आउने तरकारीको विषदी परीक्षणले पनि मूल्यमा प्रभाव पारेको दाबी गर्छन् ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी माहासंघका अध्यक्ष खोम घिमिरेले विषादी परीक्षणको प्रभाव तरकारीको मूल्यमा पनि देखिएको दाबी गरे ।

यद्यपि, तरकारीको मूल्य अस्वाभाविकरुपमा बढ्नुको कारण विषादी परीक्षणमात्रै भने नभएको घिमिरेले बताए । तराई क्षेत्रमा डुबान भएका कारण उत्पादित तरकारी बजारमा आउन समस्या परेका कारण पनि मूल्य बढेको उनले बताए । ‘अहिले भारतबाट आउने तरकारी पनि कम भएको छ, नेपालको उत्पादन पनि न्यून छ’ घिमिरेले भने, ‘दुबैतर्फको तरकारी नआएका कारण मूल्यमा अस्वाभाविक तरिकाले बढेको छ ।’