दार्चुलाको दुहूँ गाँउपालिकामा वायरलेससहितको इन्टरनेट सेवा ।

0
335

दार्चुला, २१ असोज । दुहूँ गाउँपलिकामा बिनातार वायरलेससहितको इन्टरनेट सेवा उपलब्ध गराइएको छ । गाउँपालिकाले चालू आवकोे बजेटमा गाउँपालिका, वडा तथा विषयगत कार्यालयमा इन्टरनेट जडानका लागि रकम छुट्याएको थियो । गाउँपालिकाको नियमित कामकाजमा सहज गराउने उद्देश्यले शिखर नेट प्रालिसँगको सहकार्यमा इन्टरनेट जडान गरिएको गाउँपालिकाले जानकारी दिएको छ । स्थानीय सरकार गठन भएको डेढ वर्षसम्म पनि नेपाल टेलिकमको इन्टरनेट सेवा गाउँमा पुर्याउन नसकिएपछि निजी इन्टरनेट सेवा प्रदायक कम्पनीसँग सहकार्य गरेर इन्टरनेट जडान गरिएको बताएका छन् ।

गाउँपालिकाका सबै वडामा इन्टरनेट पुर्याउने लक्ष्य रहे पनि अहिलेलाई गाउँपालिका कार्यालय, वडा नं २ र विषयगत कार्यालयमा इन्टरनेट जडान गरिएको छ । गाउँपालिका अन्य वडामा विस्तार गर्दै लैजाने तयारी रहेको र विगतमा इन्टरनेट अभावमा सिडिएम मोडिएमबाट कामकाज हुँदै आएकामा वायरलेसहितको इन्टरनेट जडानपछि काममा सहज हुने गाउँपालिकाका नायब सुब्बा राजेन्द्र बहादुरसिंहले बताएका छन् । यसअघि उक्त प्रालिले दार्चुलाको अपी हिमालमा समेत इन्टरनेट जडान गरिसकेको छ । सदरमुकाम खलङ्गाबाट दुई दिनको पैदल दूरीमा पुगिने अपी हिमाल गाउँपालिकाको सदरमुकाम खण्डेश्वरी र वडा नं ४ मा इन्टरनेट जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय तहले लगानी बढाउन सके अप्टिकल फाइबरमार्फत दु्रत गतिमा इन्टरनेट सबै गाउँपालिकामा सजिलै पुर्याउन सकिने जनाएको छ । उक्त प्रालिले दार्चुलाको मालिकार्जुन, लेकम, गाउँपालिका, बैंकिङ क्षेत्र तथा विद्यालयमा इन्टरनेट जडान गरेको थियो भने महाकाली नगरपालिकाका विभिन्न विद्यालय र सङ्घसंस्थामा शिखर नेट जडान गरिएको छ । जिल्लामा इन्टरनेट सेवा प्रदायकका रुपमा नेपाल टेलिकम मात्रै रहेको छ । टेलिकमले सदरमुकाम खलङ्गा क्षेत्रमा मात्र इन्टरनेट सेवा दिएको छ ।