डोटीमा ७४ वर्षीया बृद्धा बलात्कृत, साउन यता पाँच घटना दर्ता ।

0
327

डोटी, १६ असोज । विश्वभरी २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहेको दिन डोटीमा एकजना बृद्धा बलात्कृत भएकी छन् । सोमवार बिहान ७ बजेतिर आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका – ३ की ७४ वर्षीया बृद्धा बलात्कृत भएकी हुन । उनलाई बाटोमा एक्लै हिँडिरहेको देखेपछि बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका करिब २२ वर्षीय गणेश भनिने एकेन्द्र धामीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए । बलात्कारको आरोप लागेका धामी प्रहरीकै नियन्त्रणमा छन् । उक्त घटनासहित डोटी जिल्लामा साउन यता बलात्कारका पाँच घटनाहरु भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

साउन १७ गते डोटी आदर्श गाउँपालिकामा २२ वर्षीया एक महिलालाई घरमै गइ बलात्कार गर्न खोजेको आरोपमा आदर्श गाउँपालिका–२ मा ३० वर्षीया धौले लुहारबिरुद्ध बलात्कारको प्रयासमा मुद्धा दर्ता भएको छ । यस्तै शिखर नगरपालिकाकी १६ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा सायल गाउँपालिका–६, डोटी घर भइ हाल शिखर नगरपालिका(६ मा बस्दै आएका शिवराज लुहारलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया अपाङ्ग महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा सोही गाउँपालिका वडा नं. ५ का ३५ वर्षीय शिव लुहारबिरुद्ध जवरजस्ती करणीको मुद्धा दर्ता भएको छ । शिखर नगरपालिकाकी १७ वर्षीया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा शिखर नगरपालिकाकै एक युवकलाई प्रहरीले गिरफ्तार गरेको हो । यी घटनामध्ये एक घटना जेठमा भएको भएपनि प्रहरीमा उजुरी असोजमा मात्रै आएको प्रहरीले जानकारी दिएको छ ।