पराजयबाट कांग्रेसले यस्तो सिक्नुपर्ने ।

0
210

डा. सुरेश आचार्य, २५ मंसिर । नेपाली कांग्रेसको पार्टी सभापति र प्रधानमन्त्रीका हैसियतमा शेरबहादुर देउवामाथि असफल भएको आरोप लाग्न सक्छ । कांग्रेसभन्दा बाहिरीवृत्तका मानिसहरू शेरबहादुरले नैतिकताका आधारमा राजीनामा देलान् भनेर प्रश्न गरिरहेका छन् । कांग्रेसकै चुनाव जितिरहँदा गगन थापालाई समेत कांग्रेसको विशेष महाधिवेशन हुनुपर्ने र पुरानो नेतृत्वले विश्राम लिनुपर्छ भन्ने लागेको छ । चुनाव हारेर फर्किरहँदा रामचन्द्र पौडेललाई पनि लाग्न सक् छ, यो हारको कारण पार्टी सभापति नै हुन् । कुनै पनि उम्मेदवारलाई म मेरै कारणले हारें भन्ने लाग्दैन । यद्यपि, चुनाव हारेर आएर पार्टीचाहिँ म चलाउँछु भन्ने नैतिक अधिकार रामचन्द्रसँग पनि बाँकी छैन । संकटमा परेका बेला आफैंमाथि प्रहार गर्ने रोगबाट कांग्रेस अछुतो छैन । तर शेरबहादुरको सफलता संविधानलाई संस्थागत गर्नु हो भन्ने धेरैले बर्सेका छन् । आफ्नो पार्टीको हार देख्दादेख्दै लोकतन्त्रको जीतका लागि स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्मको निर्वाचन गराउन सक्नु सानो साहसले पुग्ने थिएन ।

केपी ओलीको सरकार हुन्थ्यो भने समयमा चुनाव हँुदैनथ्यो । यद्यपि, उनै ओली देउवाले चुनाव गराउँदैनन् भनेर प्रचार अभियान चलाइरहेका थिए । उनले चुनाव गराउन नसकेर राजीनामा दिएको कुरालाई कांग्रेसले प्रचारको अभियान बनाउन सकेन । प्रचण्ड पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउन सकिरहेका थिएनन् । तर देउवाले स्थानीय तहको मात्र होइन, प्रदेश र प्रतिनिधिसभाको चुनाव गराए । संविधानले तोकेको समयसीमाभित्र गराए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका परिणामले कांग्रेसलाई कमजोर बनाएको छ । पार्टी सभापतिका हैसियतमा यो जिम्मेवारी देउवाले लिनुपर्छ । तर समग्रमा कांग्रेस मत घटेको छैन । संख्या घट्यो । यसको स्वाभाविक कारण दुई ठूला दल मिलेर जाँदा कांग्रेस एक्लै लड्नुपर्ने अवस्था आयो ।

कांग्रेसले लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन नसक्नु पार्टी नेतृत्वको कमजोरी हो । यद्यपि, कांग्रेसले स्थानीय चुनावमा एमाले र माओवादीले पाएको मतसँग कांग्रेसको मतान्तर घटाएको छ । संख्यात्मक हार भइरहँदा कांग्रेसले प्राप्त गरेको मतले कांग्रेस कमजोर भएको प्रमाणित गर्दैन । घोषित परिणाममा कांग्रेस पाँच सिट जित्न सफल हुँदा पाँच सिटमा ४७ देखि ४४० मतको अन्तरमा पराजित भएको छ । मुगुमा मंगलबहादुर शाही स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामासँग ४७ मतले पराजित भए । यसरी नै मनाङमा १७९, मुस्ताङमा २६३, काठमाडौं–८ मा ३५४ र धादिङ– २ मा ४४० मतको अन्तरमा हारजित भयो । अहिलेको स्थितिमा कांग्रेसका लागि पाँच सिट गुमाउनु थोरै होइन ।यो निर्वाचनले नेपालमा कम्युनिस्टलाई बलियो देखाएको छ । कम्युनिस्टले मात्रै सक्षम सरकार दिन्छन् भन्ने दाबीका आधारमा वाम गठबन्धन यो मत पाउन सफल भएको छ । तर दुनियाँमा कम्युनिस्टले कतै सफल सरकार दिएका उदाहरण छैनन् ।

चीनको आर्थिक विकास अपवादमा राख्ने हो भने अर्थतन्त्रलाई धराशयी बनाउने काम दुनियाँका कम्युनिस्टहरूले नै गरे । नेपालमा पनि कम्युनिस्ट सरकार नयाँ अभ्यास होइन । २०५१ सालमा बनेको मनमोहन अधिकारीको एमाले सरकार पहिलो कम्युनिस्ट सरकार थियो । उसबेला सुरु गरेको वृद्धभत्ता (हालको जेष्ठ नागरिक भत्ता) को व्यवस्थालाई बेचेर एमालेले आजपर्यन्त चुनाव लडेको छ । २०६२/६३ को संयुक्त जनआन्दोलनपछिका ११ वर्षमा आधाभन्दा बढी समय कम्युनिस्ट नेतृत्वकै सरकार रह्यो । अर्थात् पछिल्ला ११ वर्षमा ६ वर्षभन्दा बढी कम्युनिस्ट सरकार नै चलेको थियो ।अहिलेको अन्तर यति मात्रै हो, दुईथरी कम्युनिस्ट एक भएका छन् र मुलुकलाई विकास र स्थायित्व दिने घोषणा गरेका छन् । माओवादी आफैं फुटेर आधा दर्जनभन्दा बढी पार्टी बनेको अवस्थामा कम्युनिस्टहरू जुट्न पनि सक्छन् भन्ने सन्देश दिने प्रयत्न भएको छ ।

कांग्रेसको यो हारका केही कारण थिए भने पहिलो त उम्मेदवारी चयनमा भएको कमजोरी हो । हरेक गुटका नेताले आफू र आफ्नालाई उम्मेदवार बनाउन चाहे । पुरानो पुस्ता पाँचौंपटकसम्म पनि चुनावमा होमिन तयार भयो । उम्मेदवारको लोकप्रियतालाई बिल्कुल ध्यान दिइएन । कम्युनिस्ट एकताले कांग्रेसलाई आधा त एकजुट बनायो, तर आधाचाहिँ कांग्रेसभित्रकै अर्को पक्षलाई सिध्याउन वा निस्तेज बनाउन सक्रिय रह्यो । कतिले खुलेर यो भूमिका निर्वाह गरे, कतिले लुकिछिपी गरे । अधिकांश ठाउँमा टिकट नपाएका नाममा निष्क्रिय बस्ने सक्रिय नेताहरू देखिए ।

कतिले पुुरानो बदला लिने अवसर पनि यही निर्वाचनमा पाए । एक भएका कम्युुनिस्टसँग मुकाविला गर्ने राजनीतिक कार्यक्रम कांग्रेसले फेला पारेन । कम्युनिस्ट अधिनायकवादको खतरा त कांग्रेसले देखायो, तर सत्तामा रहेका कम्युनिस्टभन्दा सत्ताबाहिर रहेका कम्युनिस्ट बढी खतरनाक हुने अनुभव भोगेका नेपाली मतदाताले कांग्रेसको भनाइमा धेरै विश्वास गरेको पाइएन । कांग्रेस नेतृत्वले मूल मन्त्र बनाएको अधिनायकवादको कतिपय कांग्रेसीले आफैं प्रतिवाद गरे ।

रणनीतिक रूपमा खेल्न सकिने ठाउँ कांग्रेससँग थियो । एमाले र माओवादीका अन्तर्विरोधमा कांग्रेसले खेल्ने प्रयत्न नै गरेन । पार्टी संगठन शेरबहादुर देउवामा केन्द्रीत रह्यो । उनले जानेर वा नजानेर जति गरे, त्योभन्दा बढी रणनीति बनाउने टिम कांग्रेसमा देखिएन । हिजो अवसर पाएका कांग्रेस बुद्धिजीवी भनिनेहरू सकभर कांग्रेसमा देखा पर्न नपरे हुन्थ्यो भन्ने मानसिकतामा रहे । चुनाव परिचालन र चुनाव प्रचार समितिमा रहेकाहरू आफैं सक्रिय भएनन् । बोलाए आइदिने अन्यथा देखै नपर्ने परिचालन र प्रचार सदस्यबाट धेरै अपेक्षा गर्ने ठाउँ रहेन । कांग्रेसले यो चुनावमा लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन सकेन । दुई राप्रपालाई जोडेर लोकतान्त्रिक बनेको गठवन्धनमा जोड्नै पर्ने राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम बाहिर रहे । राजपाको महन्थ ठाकुर र फोरमका उपेन्द्र गच्छदार र अशोक राईलाई गरिएको समर्थनले खासै परिणाम दिएन ।

राप्रपासँग गठबन्धन गरिरहँदा अधिकांश ठाउँमा संयुक्त प्रचार समितिसमेत बनेनन् । आफ्ना उम्मेदवार नहुँदा गठबन्धनमा रहेको राप्रपाका कार्यकर्ताले के आधारमा कांग्रेसलाई मत दिए होलान् ? पाँच वर्षका लागि कांग्रेसले संगठन गर्ने अवसर पाएको छ । अब कांग्रेसले सम्भावित सत्ता राजनीतिलाई छाडेर संगठन अभियान चलाउन जरुरी छ । कांग्रेसले अब निर्मम ढंगमा संगठन गर्न आश्यक छ । अनुशासनहीन कार्यकर्ताहरूको संरक्षण अब जरुरी छैन । लोकतान्त्रिक गठवन्धनमा आउन सक्नेसँग अब पार्टी एकता गरेर बलियो लोकतान्त्रिक विकल्पका रूपमा उभ्याउने अभियान अब सुरु गर्नुपर्छ । तदर्थवादमा चल्दै आएको पार्टीका संरचनालाई अब कांग्रेसमा समेटिन सक्ने दलका नेताहरूलाई समेत सहभागी गराएर पार्टीलाई पूर्णता दिनुको विकल्प कांग्रेससँग छैन ।