आज विश्वकर्मा पूजा ।

0
214

१ असोज , काठमान्डौँ । आज आश्विन संक्रान्तिका विश्वकर्मा पूजा । कालीगढहरुले विश्वकर्मा बाबाको पूजा गरी मनाउँदैछन् । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेद द्वारका बनाई लुकाएको धार्मिक विश्वास रहिआएको छ । एकै रातमा समुद्रको बीचमा भेद द्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविदका रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा चलेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताए । प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ ।

विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ ।  यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

व्यापारमा उन्नति र पारिवारिक सुख प्राप्त हुने धार्मिक विश्वासका साथ सुनसरी मोरङस्थित विभिन्न उद्योग, गाडीका ग्यारेज, हार्डवेयरका पसल, सवारीसाधनका साथै पसलमा पनि पूजापाठ भइरहेको छ । पूजा शुरु गर्नुअगावै मेशिनरी, सवारीसाधनलगायतको राम्रोसँग सरसफाइ गरेपछि मात्र पूजा शुरु गरिएको हो । यसैबीच आज विज्ञान दिवस पनि मनाइदैंछ । विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, हाजिरी जवाफ प्रतियोगिताका विजयी समूह र यस वर्षका लागि विज्ञान दिवसको नारा लेख्ने दुई जनालाई पुरस्कृत गरेर विज्ञान दिवस मनाउन लागेको छ । पाँच बर्षअघि देखि नै यो दिवस मनाउने गरिए पनि जनस्तरसम्म पुग्न सकेको छैन ।