प्रधानमन्त्रीका अवसर र चुनौती ।

0
307

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यस्तो बेलामा प्रधानमन्त्री भएका छन्, जतिबेला देशमा नयां संविधान कार्यान्वयन हुने कि नहुने भन्नेमा प्रश्न उठिरहेको छ । अर्कातिर नेपाली इतिहासमै राजा महेन्द्र पछि उनै पुष्पकमल दाहालले प्रधानमन्त्री बनाएका केपी ओली देशभक्त अडानमा टिकेर भारतका विरुद्ध लडे भन्ने सञ्चार भैरहेको छ । यति पनि ठिकै छ तर दाहालमाथि भारत पक्षधर बनेको भन्ने एमाले बृत्तबाट चर्को आलोचना भइरहेको छ । नेपालको हरेक राजनीतिक घटनाक्रममा दिल्लीले आफ्नो हात रहेको प्रचार गर्ने परम्परामा पुष्पकमल दाहाल प्रधानमन्त्री हुने पूर्व सन्ध्यामा भारतीय मिडियाले गरेको प्रचारवाजीले झन संशय बढाइदिएको छ । त्यसो त पुष्पकमल दाहालले आफूलाई माओवादी रहंदासम्म जे जे भनेपनि जसको कुरा माने पनि उनका प्रति हेर्ने दृष्टिकोण साधारण हुने छैन । यो तथ्य उनले कति बुझ्छन् । उनका सहयोगी र पार्टीले कति बुझ्छन झन अप्ठेरो कुरा त्यहां छ । माओवादीले चुनाव हा¥यो । पार्टीबाट बैद्यहरु अलग्गिएकै थिए । विप्लवले झन ठूलो क्रान्तिकारी हुने रहर गरे । प्रचण्डको सहयोगी बनेका बाबुराम भट्राई पार्टीबाट बाहिरिए । नेपाली राजनीतिमा बाबुरामलाई भारत नजिक मानिन्छ । तर संयोग यस्तो परेको छ बाबुरामले नयां शक्ति अभियानको देश दौडाहा चलाइरहेका बेला भारतको चाहना, समर्थन र जोडबलमा प्रचण्ड प्रधानमन्त्री बनेको सन्देश प्रवाह भइरहको छ । के सांच्चिकै माओवादी दिल्लीको प्यारो भयो कि दिल्ली माओवादी भित्र पस्यो ? यो रोचक बहस चलिरहेकै छ । जानकारहरु भन्छन् दिल्लीले जसरी पनि केपी ओली हटाउने चाहना र जसरी पनि राजनीतिको केन्द्रभागबाट शान्तिप्रक्रियाका बांकी मुद्धा समाधान गर्ने पुष्पकमल दाहालकोे सम्भावना खोजीले नै उनी प्रधानमन्त्री बनेका हुन् । तर दुवैले सोचे जसरी काम हुन धेरै गा¥हो छ । तत्कालका लागि भारतको मुख्य उद्धेश्य पूरा भएको छ । केपी ओली अपदस्थ भएका छन् । तर पुष्पकमल दाहाल सत्ता सवार त भए तर उनको उद्धेश्य पूरा हुने नहुने एकिन छैन । के दाहालले आफ्नो उद्धेश्य पूरा गर्न सक्लान ? विश्लेषकहरुले आशंका गरेजस्तै माओवादी अल्मलिएला कि प्राप्त अवसर र सम्भावनालाई भरपुर उपयोग गर्ला ? पुष्पकमल दाहालले प्रधानमन्त्रीमा निर्वाचन हुनु अघि संसदमा दिएको संवोधनमार्फत प्रतिवद्धता जनाए जस्तै, पुरानो गल्तीबाट पाठ सिकेर अघि बढ्लान या, पुनः गल्ती माथि गल्ती खप्टिँदै जाला सिंगो माअ‍ोवादी र अध्यक्ष दाहालको भविष्य त्यसैमा अल्झिएको छ ।